धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका पदाधिकारीमाथि आवश्यक छानबिन गरि कारबाही अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका सिइओ चन्द्रसिंह साउदले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको देखिएको भन्दै आवश्यक छानबिन गरि कारबाही अगाडी बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

अर्थमन्त्रालयले नै छानबिन समिति बनाएकाले अध्ययन समितिको प्रतिवेदन समितिलाई पनि बुझाउनु र सोही अनुसार कारबाही गर्नु भनेर निर्देशन दिएको समिति सभापति कृष्ण प्रसाद दाहालले बताए ।

बैठकले पुँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रमा स्वच्छता, पारदर्शिता, सदाचार, नैतिकताका साथ जिम्मेवारी र जबाफदेहिता प्रवर्द्धन गर्न नीतिगत, कानुनी, संरचनात्मक लगायत सुधारको खाका तयार गरि समितिलाई जानकारी गराउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको सभापति दाहालले बताए ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पनि मन्त्रालयले आन्तरिक रूपमा समिति बनाएर छानबिन गरिरहेको र प्रतिवेदनका आधारमा कारबाही गरिने बताए । उनले सर्वोत्तमको सेयर खरिदका विषयमा मन्त्रालयले स्पष्टीकरण नै सोधेको जानकारी दिए । उनले यस क्षेत्रमा देखिएका विकृतिलाई अन्त्य गर्न मन्त्रालय गम्भीर रहेको जिकिर गरेका छन् ।

बैठकमा समिति सदस्यहरूले नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारमा सेयर किनिएको भन्दै छानबिन गरि कडा कारबाही गर्नुपर्ने धारणा राखेका थिए । सांसद रामकुमारी झाँक्रीले बोर्डका अन्य कर्मचारीलाई पनि प्रभावमा पार्ने देखिएकाले संलग्नलाई तत्कालै निलम्बन गरी छानबिन गर्नुपर्ने बताए । त्यस्तै सांसद सुरेन्द्र पाण्डेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने र सरकारले पनि कडा कानुन निर्माण गर्नुपर्ने धारणा राखे ।

बुक बिल्डिङ विधिबाट सेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुङ्गानाको छोरी र नेप्सेका सिइओ साउदको श्रीमतीले खरिद गरेको भन्दै समितिले यसअघि ढुङ्गाना र साउदलाई बोलाएको छलफल गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार