कुम्भेश्वर मन्दिरको जिर्णोद्धार, प्रधानमन्त्रीद्वारा उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णोद्धारपछि उद्घाटन गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवासहित पत्नी आरजु राणाले मन्दिर परिसरमा रहेका बङ्गलामुखी देवी तथा उन्मत्त भैरवको समेत पूजाअर्चना गरेकी छन् । प्रधानमन्त्री देउवालाई बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका मूल पुजारी माधवश्याम शर्माले प्रसाद स्वरुप रुद्राक्षको माला लगाई दिए ।

विसं २०७२ को भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो । भूकम्पले पाँचतले मन्दिरको तीन तलामा क्षति पु-याइएको थियो । डेढ महिनाअघि निर्माण सम्पन्न भएपनि आजको साइतमा माथिल्लो तलामा गजूर राखिएको पूजारी शर्माले बताए ।

मन्दिरमा राखिएको गजूर, छत्र, झलर, कमलको फूल र उत्खनन गरिएका दुईवटा त्रिशूल तथा २५ तोला सुनको जलप लगाइएको टोल सुधार समितिका उपाध्यक्ष वसन्त खड्गीले बताए । मन्दिर जीर्णोद्धारको ठेक्का धर्मेश तुलसी ड्रामा ज्वाइन्ट भेन्चरले भ्याटसहित रु दुई करोड ८५ लाखमा लिएको थियो । मन्दिरको चौथो तला छतमा २० गेजको तामा हालिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार