महन्थ ठाकुरको पार्टीको नाम फेरियो, नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी

महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि गरेको प्रस्तावित नाम परिवर्तन गरेका छन् । निर्वाचन आयोगको सुझाव अनुसार नाम परिवर्तन गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

आयोगले दर्ता भइसकेका पार्टीको नामको अगडि या पछाडि अन्य शब्द थप गरेर नाम नराख्न सुझाएपछि नाम परिवर्तन गरिएको उनले बताए । नेता कर्णका अनुसार नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको छ । नयाँ अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको हो ।

साथै कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको नेता कर्णले जनकारी दिए । साथै शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार