सभामुख नआएपछि धर्ना दिन गएका एमाले सांसद फर्किए

सभामुख जिम्मेवारीबाट भागेको आरोप

सिंहदरबारस्थित सभामुख अग्नि सापकोटाको कार्यालयमा धर्ना दिन गएका नेकपा एमालेका सांसदहरू फर्किएका छन् । सभामुख सापकोटा कार्यालय नआउने भएपछि सांसदहरू फर्किएका हुन् ।

शुक्रबार १४ सांसदलाई पदमुक्त गरेको सूचना जारीको माग गर्दै एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायत एक दर्जन सांसद सिंहदरबार पुगेका थिए । तर डेढ घण्टा बढी कुर्दा पनि सभामुख नआएपछि उनीहरु धर्ना छाडेर हिँडेका हुन् ।

सभामुख नआएपछि सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गरेकी थिइन् । उनले कार्यव्यस्तता देखाएर सभामुख जिम्मेवारीबाट भागेको आरोप लगाएकी छन् ।

‘उहाँले २४ घन्टाभित्र यसलाई टुंगोमा पुर्‍याउने बताउनुभएको थियो,’ उनले भनिन, ‘अहिले कार्यव्यस्तता देखाएर भाग्नुभयो । हामी नियमित विरोध कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।’

एमालेले माधवकमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न पत्र लेखेको थियो । तीन दिनसम्म पनि पदमुक्त नगरेको भन्दै एमाले नेताहरुले बिहीबार पनि सभामुखलाई भेटेर दबाव दिएका थिए । अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै सभामुख सापकोटालाई पार्टीको कार्यकर्ता बन्ने भए सभामुखबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर भदौ १ गते नै संसद सचिवालयमा जानकारी गराइसकेपनि सभामुखले अहिलेसम्म दल त्यागको सूचना जारी नगरेको भन्दै एमाले रूष्ट छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार