पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन

गएरातिको वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा उक्त राजमर्ग अवरुद्ध भएको थियो ।

राजमार्ग खुलाउन सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोग लिइएको घण्टेश्वर गैरास्थित प्रहरी चौकीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएका कारण गएरातिदेखि अलपत्र परेका दजनौँ सवारीसाधन तथा सयौँ यात्रु अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए । पहिरोका कारण पाँचौँ पटकसम्म राजमार्ग अवरुद्ध भइसकेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार