माधव पक्षका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै सभामुखको कार्यालय पुगे एमाले सांसद

नेकपा एमालेले कारबाही गरेका माधव कुमार नेपालसहित उनी पक्षका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले सभामुखलाई दबाब दिन थालेका छन् ।

बिहीबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा सभामुख कार्यालय पुगेर कारबाहीको ध्यानाकषर्ण गराएका उनीहरु शुक्रबार पनि सभामुखलाई दबाब दिन सभामुखको कार्यकक्षमा पुगेका छन् । शुक्रबार सचेतक शान्ता चौधरी, पूर्वमन्त्रीहरू खगराज अधिकारी, गोकुल बाँस्कोटा, लालबाबु पण्डित लगायतका नेताहरू सभामुखको कार्यकक्षमा पुगेका छन् । दबाब दिन पुगेका सांसदहरुले कारबाहीको सूचना जारी गर्न ढिलाई भए धर्ना बस्नेसमेत चेतावनी दिएका छन् ।

सांसद बस्नेतले शुक्रबार धर्ना नै दिने मनसायले सभामुख भेट्न आइपुगेको बताए । ‘सभामुखले अध्ययन र छानबिन गर्छु भनेर बस्ने होइन कारबाहीको सूचना तत्काल जारी गर्नुपर्छ’, उनले भने ।

एमाले अध्यक्ष ओलीले बिहीबार एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सभामुख सापकोटालाई न्यायाधीश वा माओवादीजस्तो ‘नपल्टिन’ चेतावनी दिँदै १४ जनामाथिको कारबाहीको सूचना तत्काल नटाँसिए संसद चलाउन नदिने बताएका थिए ।

माधव नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब बढाइरहेको बेला ओली निकट नेताहरू भने जसरी पनि सांसदबाट कारबाही गराउन सक्रिय भएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार