माधव नेपाल समूहसँग जोडिएका नेताहरूलाई पार्टीमा फर्कन ओली आह्वान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरूलाई पार्टीमा फर्कन आह्वान गरेका छन् । एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराउनेलाई पार्टीमा फर्कन आह्वान गरेका हुन् ।

उनले माधव पक्षमा गएका नेताहरूको भविष्य अन्धकार रहेको तर्क गर्दै आफ्नो पार्टीमा रहेका नेताहरूलाई आवश्यक जिम्मेवारी दिइने बताए । अध्यक्ष ओलीले अहिलेको सरकारले गलत प्रचार बाहेक देश विकास गर्ने दृष्टिकोण नभएको आरोप लगाएका छन् ।

माधव नेपालसँग देश विकासको कुनै भिजन नै नरहेको भन्दै ओलीले अहिलेसम्म समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा कहिल्यै बोलेको नसुनेको तर्क गरे । अध्यक्ष ओलीले अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रूपमा गठन गर्न नसकेको भन्दै तमासा मात्र गरेको बताएका छन् ।

त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो पार्टी नभएको भन्दै एमालेलाई ध्वस्त गर्ने प्रतिकृयावादीको कदम सफल नहुने दाबी गरेका छन् । उनले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गर्दै संसद्लाई छल्न खोजिएको आरोप लगाए । ओलीले आफू लाग्ने हो भने माधवकुमार नेपाल समूहलाई १० प्रतिशत समेत पु-याउन नसक्ने बनाइदिने दाबी समेत गरेका छन् ।

अध्यक्ष ओलीले नेकपा एमालेमाथि तानाशाही, गौर कानुनी प्रवृत्ति देखाए त्यो महँगो पर्नजाने भन्दै चेतावनी दिए । कार्यक्रममा एमालेका युवा नेता महेश बस्नेतले माधव नेपालको पक्षमा २०५ केन्द्रीय सदस्य नपुग्ने दाबी गरेका छन् । बस्नेतले दलीय अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएका १४ सांसदलाई कारबाही नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार