प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने सरकारको निर्णय

सरकारले नेपाली सेनाको ४४औँ प्रधानसेनापति पदमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाली सेना कायममुकायम प्रधानसेनापति छन् । कायममुकायम जिम्मेवारी तोकिएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन् । स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्मा भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।

सन् १९६४ जनवरी ५ मा काठमाडौँमा जन्मिएका शर्मा आगामी भदौ २५ गतेदेखि सेनाको ४४औँ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै छन्। भारतबाट डिफेन्स कोर्स गर्नुभएका रथी शर्मा त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नात्तकोत्तर हुन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोस्थित नेपाली शान्ति मिसनको नेतृत्व अनुभव सम्हालेका रथी शर्माको सैनिक सङ्गठनमा बौद्धिक र भद्र व्यक्तिका रुपमा परिचय स्थापित छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार