बामेदव गौतम भन्छन्- ओलीको पक्षमा लागेर केही गर्न सकिँदैन, माधवको पार्टीमा सहभागी हुन्छु

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका छन् । आफू नेतृत्वको राष्ट्रिय एकता अभियानको भर्चुअल बैठकमा बोल्दै नेता गौतमले अब आफू एमाले समाजवादीको बैठकमा सहभागी हुने बताएका हुन् ।

पार्टी एकता अभियानलाई तीव्र बनाउँदै एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने उनले बताएका हुन् । केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने उनको भनाइ छ ।

‘ओलीको पक्षमा लागेर केही गर्न सकिदैन,’ उनले भने, ‘अब हामीले विद्रोहबाट अर्कोपक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं ।’

उनले नेपालसँग पार्टी एकताको जिम्मेवारी आफूलाई दिन आग्रह गर्ने बताए । ‘माधव नेपाल नेतृत्वको बैठकमा म सबभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’, गौतमले भने । माधव नेपालले वार्ताको जिम्मेवारी दिए डेढ वर्षभित्रै एकता गर्ने उनको दाबी छ ।

भर्चुअल बैठकमा सहभागीहरूमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए । बैठकमा ७७ जना सहभागी थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार