लुम्बिनी प्रदेशसभाको बैठक ७ गतेसम्म स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक सूचना जारी गर्दै स्थगित गरिएको हो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३्) बमोजिम आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

भदौ १ गतेदेखि शुरू भएको अधिवेशन एमालेको निरन्तर अवरोधका कारण अगाडि बढ्न सकेको छैन । यसअघि प्रमुख विपक्षी दल एमालेले लगातार दुई दिनसम्म प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रदेश सभा सन्चालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेपनि सहमति जुट्न सकेको थिएन ।

एमालेको सूर्य चुनाव लिएर निर्वाचित नवलपरासीका शाही र दाङकी वली पार्टी हितविपरीत गएकाले कारबाही गरी संसदबाट पदमुक्त गर्न प्रदेशसभामा निवेदन दिएपनि कारवाही अगाडि नबढाइएको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । ढकालले कारबाहीको प्रकृया अगाडि नबढाए कुनैपनि हालतमा सदन चल्न नदिने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार