रसुवा पहिरो अपडेट : दुई जनाको शव भेटियो, दुई अझै बेपत्ता

घरमाथिबाट आएको पहिराका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना अझै बेपत्ता छन् भने एक जना घाइते भउका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिएको हो ।

पहिरोमा परी श्यामबहादुरकी श्रीमती ३२ वर्षीया कमला घलान र ८ वर्षीया सुकुमाया घलानको शव निकालिएको पाण्डेले जानकारी दिए । पहिरोमा परी ११ वर्षीया सोकिता घलान र ७ वर्षीय आशिष घलान अझै बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको उनले बताए ।

घटनामा श्यामबहादुर घाइते भएको र उनको नुवाकोटको त्रिशूली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको पनि पाण्डेले बताए । राति सुतिरहेको अवस्थामा पहिरो आएको र उनीहरुलाई पुरेको प्रहरीको भनाइ छ ।

अहिले सशस्त्र, नेपाली प्रहरी र सेनाको टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको प्रमुख पाण्डेले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार