संसदमा माओवदी केन्द्रले भन्यो: सरकारले आगामी चैत २३ भित्र विश्वासको मत लिनुपर्छ

नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी चैत २३ भित्र विश्वासको मत लिनुपर्ने बताएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता गुरुङले माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले चैत २३ गतेसम्म सरकारले विश्वासको मत नलिए संवैधानिक हैसियतमाथि प्रश्न उठ्ने बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाले दल विभाजन गरिसकेकाले सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएको भन्दै उनले यस्तो बताएका हुन् । नेता गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) आकर्षित भएको बताए । उनले भने, ‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ । दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) आकर्षित हुनेछ ।’

धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ’, गुरुङले भने, ‘अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्न उठ्ने देखिन्छ ।’

साथै उनले सरकारले संसद्लाई बिजनेसविहीन बनाइरहेको आरोप लगाउँदै सरकारले संसद्लाई बिजनेसविहीन बनाउँदा थुप्रै महत्वपूर्ण विधेयक अड्किएर बसेको र सामान्य एजेन्डामा मात्रै संसद् बैठक सीमित भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार