मन्त्री चुन्न नसकेका शेर बहादुरलाई स्वकीय छान्न झन् ठुलो सकस

सर्वोच्च अदालतको परमादेश अनुसार प्रधानमन्त्री बनेका शेर बहादुर देउवाले एक महिना बितिसक्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन् । गठबन्धनको नेतृत्व गदै प्रधानमन्त्री बनेका देउवा सामु आफ्नै पार्टी र गठबन्धनमा देखिएको खटपटले मन्त्रीमण्डल बिस्तारमा ढिलाइ भएको हो । एक महिनासम्म मन्त्री विहीन हुँदा विभागीय कामहरू प्रभावित मात्रै भएका छैनन् यसको चौतर्फी आलोचना समेत भएको छ ।

अहिले मन्त्री टुङ्गो लगाउन नसकेका सत्तारुढ दल काँग्रेस, माओवादी केन्द्र सँगै जसपाभित्र समेत विवाद छ । सम्भवतः यी दलहरूले आगामी हप्ताभित्रै मन्त्रीमण्डलमा सहभागी हुनेहरूको अन्तिम टुङ्गो लगाउन सक्नेछन् । तर, प्रधानमन्त्री देउवालाई अहिले मन्त्रीमण्डलको भन्दा बढी आफ्नै सचिवालयको टुङ्गो लगाउन सकस परेको छ । त्यो पनि आफ्नै पत्नी आरजुृ राणा देउवाका कारण । प्रधानमन्त्री देउवा र पत्नी राणाबिचको विवादले अहिले आफ्नै स्वकीय सचिव टुङ्ग्याउन देउवालाई सकस परेको हो ।

प्रधानमन्त्री दम्पतीबिच सकस पैदा गर्ने पात्रहरू भने उनैका भतिजा भानु र प्रकाश हुन । अहिले भानु देउवा प्रकाश देउवा मध्ये कसलाई स्वकीय सचिव बनाउने भन्ने विषयमा सोमबार साँझ त बालुवाटारमा दम्पतीबिच चर्काचर्की नै परेको बालुवाटार स्रोत बताउँछ । देउवाले आफ्नो स्वकीय सचिवको रूपमा लामो समयदेखि आफूसँगै काम गदै आएका भानुलाई नियुक्त गर्न चाहान्छन । पत्नी राणा भने कुनै हालतमा भानुको नियुक्ति रोकेर प्रकाशलाई प्रधानमन्त्रीको मुख्य स्वकीय सचिव बनाउनुपर्ने अडानमा छन् ।

भानु काँग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय हुँदै लामो समयदेखि प्रधानमन्त्री देउवाको सचिवालयमा कार्यरत छन् । प्रकाश भने  प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको निजी सचिवको रूपमा  छन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा समेत देउवाको स्वकीय सचिवको रूपमा काम गरेका भानुलाई उतिबेलै पनि आरजुले हटाउन खोजेकी थिइन । तर भानुको पक्षमा देउवाले अडान लिएकाले अघिल्लो कार्यकाल पुरा गरेका हुन । आरजुका कारण यसपटक भने प्रधानमन्त्री देउवामाथि प्रकाशलाई स्वकीय सचिवका रूपमा अघि सार्नुपर्ने ठुलो दबाब रहेको चर्चा बालुवाटारमा चल्न थालेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार