कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ । वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ । हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोभिडका कारण गत शनिबारसम्म विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ । २९ देशमा रहेका नेपालीले विदेशमा ज्यान गुमाएका हुन् । संघको स्वास्थ्य समितिकाअनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोभिडबाट प्रभावित भएका छन् ।

संघका अनुसार १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ । यसमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोभिडमुक्त भइसकेका छन् । विभिन्न मुलुकमा गरी हालसम्म १० हजार ४ सय ५ जना नेपाली संक्रमित भएका छन् । उनीहरूको विभिन्न स्थानीय अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१.८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।

कोभिडकै कारण वैदेशिक रोजगारीको आकार खुम्चिएको छ । पछिल्लो समयमा करिब डेढ लाखको संख्यामा नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । कोभिड अघिसम्म बर्सेनि करिब ५ लाखको संख्यामा वैदेशिक रोजगारीमा नेपाली जाने गरेका थिए । कोभिडका कारण विदेशबाट रोजगारी गुमाएर फर्किनेको संख्या ५ लाख नाघेको छ । नेपालमा रोजगारीको अवसर सिर्जना गर्न ध्यान नदिइएकाले थप बेरोजगारको समस्या निम्तिएको छ ।

नेपालमै स्वरोजगार रहेका १६ लाखभन्दा बढीले रोजगारी गुमाउन बाध्य भएका छन् । नेपालसहित गन्तव्य मुलुकमा कोभिडको जोखिम दर कायमै छ । मलेसियामा मात्रै एक सातामा ३७ जनाको ज्यान गएको छ । पछिल्लो समयमा इराक र युगान्डामा पनि कोभिडको जोखिम बढेको छ ।

पछिल्लो साता ती मुलुकहरूमा एक/एक जना नेपाली कामदारको निधन भएको छ । गन्तव्य मुलुकले अझै विदेशी कामदारको माग गरेका छैनन् । कोभिडविरुद्धको खोप लगाइसकेकाको हकमा प्रवेश गर्न दिने व्यवस्थाका कारण केही संख्यामा नेपाली कामदार गन्तव्य मुलुकमा जान थालेका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार