माधव पक्षलाई ओली पक्षको जवाफ : एकताको नाममा पार्टीका गतिविधि रोक्न सकिन्न

नेकपा (एमाले) केपी पक्ष ओली पक्षले एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ ।  विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधि नरोकिने बताएका हुन् । उनले पार्टी गतिविधि रोक्न आएका सुझाव पार्टीको हित विपरीत रहेको जिकिर गरेका छन् ।

नेपाल पक्षले अधिवेशन प्रक्रिया रोक्न माग गरेको भन्दै उनले स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने धारणा राखे । ज्ञवालीले सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने स्पष्ट पारे ।

उनले विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसङ छलफल भएको बताएका छन् । विधान संशोधनको प्रस्ताव तयार भएपछि सबै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ ।

यसअघि बिहीबार बसेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठकले एमाले अधिवेशन प्रक्रिया रोक्न माग गरेको थियो । सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न आग्रह गरेका थिए । १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरू प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ । यस्तै  नेपाल पक्षले एकताका लागि वार्ता र छलफल भइरहेको बताएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार