आजदेखि देशभर ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाइँदै

पहिलो डोज लगाएको २१ दिन पूरा गरेकाले खोप लगाउन सक्ने

आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज खोप दिइएको थियो ।

सो खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई पहिलो डोज खोप दिइएको थियो । आजबाट सुरु हुने अभियानमा पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो डोज खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झन्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ । दोस्रो मात्रा खोप लगाउने व्यक्तिहरुले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड देखाउनुपर्नेछ ।

काठमाडौँमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल मिनभवन, शिक्षण अस्पताल महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम सञ्चालन हुनेछ । विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

बिहीबारसम्मको तथ्यांक अनुसार हालसम्म ४३ लाख ५९ हजार २७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार ९०० जनाले दोस्रो अर्थात कोरोना विरुद्दको पूर्ण खोप पाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार