साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका हुन् ।

यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइने उनले बताए । दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

उनले खोप केन्द्रहरु विस्तार गरेको जनाउँदै काठमाडौंमा १५०,ललितपुरमा ७७ वटा र भक्तपुरमा ३८ वटा राखिएको जानकारी गराए । देशभरि जिल्लामा ‘क्यूआर कोड’सहितको खोप कोर्ड दिने व्यवस्था गरिएको समेत उनले बताए ।

आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने पनि उनले बताए । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार