माउन्टेन गाइड लाइसेन्स रोकियो

पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्य स्थगित भएको छ । विभागले सोमबार जरुरी सूचनामा अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै अर्को सूचना नआएसम्म परिचयपत्र वितरणसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो ।

विभागले नेपालको पर्वतीय पर्यटनलाई थप व्यावसायिक, मर्यादित तथा व्यवस्थित गर्नका लागि केहीदिन अघिदेखि पर्वतीय पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराएको थियो । पहिलो इजाजतपत्र विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले पाएका थिए । विश्वविख्यात आरोहीको चिरस्मरण हुनेगरी आरोहणलाई व्यवस्थित बनाउने उद्देश्यले शुरु गरिएको परिचयपत्र अदालतको आदेशका कारण हाललाई स्थगित गरिएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

“कीर्तिमानी आरोहीको सम्मान तथा आरोहणलाई व्यवस्थित गर्नेगरी इजाजतपत्र दिन खोजिएको हो । कतिपय आरोहीले हामीलाई मात्र हुनुपर्छ भनेर माग गर्नुभएको छ, अब अदालतको आदेशानुरुप अघि बढ्नुपर्ने हुन्छ”, उनले भनिन् । विभागबाट हालसम्म ११० भन्दा बढीले इजाजतपत्र लिएका छन् ।

विभागले निश्चित मापदण्ड बनाएर नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सिफारिस गरेको आधारमा यस्तो इजाजत दिन्छ । करिब एक हजार ५०० ले इजाजत लिने विभागको अनुमान छ । पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० (चौथो संशोधन, २०७७) को दफा ५७(क) बमोजिम विभागले उक्त परिचयपत्र वितरण गरिँदै आएको थियो ।

सर्वोच्च अदालतको वादी लाक्पा रड्डु शेर्पा र प्रतिवादी नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भएको उत्प्रेषण रिट नं ०७७ डब्लूओ ०९१२ तथा वादी तेण्डी शेर्पा र प्रतिवादी पर्यटन मन्त्रालय भएको उत्प्रेषण रिट नं ०७७ डब्लूओ ०९३० मुद्दामा चैत ९ गतेको उत्प्रेषणको आदेश जारी भएको विभागको सूचनामा उल्लेख छ । नौ आरोही समूहलाई आरोहण अनुमति वसन्तयामको सगरमाथा आरोहणका लागि हालसम्म तीन आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ । सोमबार थप एक आरोही समूहलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ ।

त्यस्तै ल्होत्से हिमाल आरोहणका लागि पहिलो आरोहण अनुमति जारी भएको विभागका निर्देशक आचार्यले जानकारी दिए । उनका अनुसार वसन्त आरोहणका लागि हालसम्म सगरमाथासहित नौ आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ । सगरमाथामा तीन, अन्नपूर्णमा तीन तथा मनास्लु, नुप्से र ल्होत्सेमा समान एक/एक समूहले आरोहण अनुमति लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार