युवकलाई दाम्लोले बाँधेर कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

जाजरकोटमा युवकलाई बाँधेर कुटपिट गर्ने जुनचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । जाजरकोट प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो ।

साउन १५ गते वडाध्यक्ष नेपालीले स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले ती युवकलाई सार्वजनिक रूपमै कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएर चौतर्फी आलोचना भएपछि प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको हो ।

यद्यपि पीडितले जाहेरी दिएका छैनन् । पीडितले जाहेरी नदिए पनि उनीमाथि मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए । ‘वडाध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं’ प्रहरी निरीक्षक पाण्डेले भने ।

उनका साथसाथै कुटाइ खाएका युवकलाई पनि सदरमुकाम बोलाइएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार