अध्यक्षकै हैसियतमा अपिल जारी गर्दै ठाकुरले भने- उपेन्द्रले १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमा गर्‍यौँ

निर्वाचन आयोगबाट जसपाको आधिकारिकता गुमाएका महन्थ ठाकुरले सोही पार्टीको अध्यक्षकै हैसियतमा अपिल जारी गरेका छन् । बुधबार जारी अपिलमा पार्टी अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै केपी ओली नेतृत्वको तत्कालीन सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उनले गर्न नसकेका काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन् ।

ठाकुरले यादवमाथि प्रश्न उठाउँदै ‘आफू १८ महिना केपी ओलीको सरकारमा बस्दा माग मुद्दाको सबालमा एउटा सिन्को भाँच्न नसक्नेले हामी १८ दिनमै माग मुद्दाहरु पूरा गराउँदा हामीतिर औंला देखाइरहेका छन्’ भन्दै जनतालाई जवाफदिन तयार हुनुपर्ने बताएका छन् । उनले आफूहरु मधेसको माग पुरा हुने देखेर नै सरकारमा सहभागी भएको समेत जिकिर गरेका छन् ।

यस्तै निर्वाचन आयोगले उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएको प्रति असन्तुष्टि पोख्दै उनले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा रहेकाले उपयुक्त निकास निस्कने विश्वास लिएका छन् । यस्तै मधेसी आदिवासी, जनजाति, थारुलगायतका जनताको अधिकार प्राप्ति गर्ने सवालमा एकल जातीय राज्यको समाप्ति तथा बहुल राष्ट्रिय राज्यको स्थापनाको निम्ति आफूहरु संघर्षरत रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्न अपिल गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार