माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, संस्थापन पक्षले भन्यो ‘अनाधिकृत’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।

बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनस्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । ‘राजनीतिक घटनाक्रमबारे समीक्षा र सुझाव लिन बैठक बोलाइएको हो’, उनले भने ।

यसैबीच संस्थापन अर्थात अध्यक्ष केपी शर्मा ओली पक्षले यो बैठकलाई अनधिकृत भन्दै आपत्ति जनाएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बुधबार राति विज्ञप्ति जारी गर्दै नेपाल पक्षले बिहिबारका लागि बोलाएको बैठकलाई अनाधिकृत भएको बताएका हुन् ।

एमाले केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिएको भन्दै विज्ञप्तिमा साउन २१ गते पार्टीले कुनै बैठक नबोलाएको उल्लेख गरिएको छ ।

पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भन्दै तामाङले जारी गरेको विज्ञप्तिमा त्यस्ता गतिविधिमा नलाग्न पार्टी कार्याकर्तालाई भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार