सरकारले स्पष्टीकरण मागेपछि रेल्वे कम्पनीका महाप्रबन्धकको प्रचण्ड र माधवमाथि आक्रोश

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले सरकारले सोधेको स्पष्टीकरण प्रचण्ड र माधव नेपालको निर्देशनमा भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध लेखेर भट्टराईले सडकमा भेट्ने चुनौती समेत दिएका छन् ।
अधिकांश समय सामाजिक सञ्जालमा अशिष्ट गालीगलौजमा उत्रिएर चर्चामा आउने गरेका रेल्वे कम्पनीका प्रमुख भट्टराईले आफूलाई स्पष्टीकरण दिन र पदबाट बर्खास्त गर्न प्रचण्ड र माधव कुमार नेपालको दबाब रहेको उल्लेख गरेका छन् ।
रेल्वे विभागको जागिर आफ्नो रहर नभएको समेत भट्टराईले उल्लेख गरेका छन् । भट्टराईले लेखेका छन्,  ‘गुरु भट्टराई देखेर तिन कान्ला हाम फाल्नेहरू यो देश बनाउँछन् भनेर कल्पना गर्नु ? म लाखौँको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताले आएको हो ।’ त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति हो मेरो आफ्नै व्यक्तिगत चाहना हैन ।’
उनले अगाडी लेखेका छन्, ‘माधव नेपाल र प्रचण्डले राजनीतिको नाममा मुलुक लुट्ने र जनताको आन्द्रा चुस्ने काम गरेको विपक्षमा जन हित र लोकतन्त्रको पक्षमा बोल्दा मेरो आचरण खराब भो ? मैले त घोषित रूपमा भनेको हुँ, माधव नेपाल कहाँ बाट चुनाव लड्छन्, २ महिना म त्यही बिताउने वाला छु। मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु ।’
त्यस्तै, उनले विपक्षी दलको सरकार बनाउन हिँड्ने अराजनीतिक मान्छे कहाँ पुग्छन् प्रस्ट भएको बताएका छन् । ‘म त घोषित रूपमा भन्दै छु,’ उनले लेखेका छन्, ‘माकुने राजनीतिके क्यान्सर हो, काटेर फाल्न आवश्यक छ ।’
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार