काठमाडौंको चौमतीमा घाँटी थिचेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाडौंको चौमतीमा घाँटी थिचेर श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । खोटाङ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १६ चौमती बस्ने २८ वर्षीया बबिता राईको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार नुवाकोट तादी गाउँपालिका वडा नम्बर २ सातबिसेका ३८ वर्षीय उनका श्रीमान रामेश्वर गोतामेलाई बुधबार बिहान पक्राउ गरिएको हो ।

रामेश्वरले गएराति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने स्थानीयबाट खबर पाएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई घटनास्थलबाट पक्राउ गरेको हो । उनीहरू ५ महिनादेखि चौमतीका राजेन्द्र देवकोटाको घरमा बस्दै आएका थिए । श्रीमान-श्रीमती दुवै जना बालाजुको औद्योगिक क्षेत्र भित्रको चप्पल कारखानामा काम गर्ने गरेका थिए ।

बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार उनीहरूको पाँच वर्षअघि मात्रै विवाह भएको थियो । मृतक बबिता रामेश्वरकी दोस्रो श्रीमती हुन् । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार