क्रियाशील सदस्यमा धाँधली भएको पौडेल पक्षको ठहर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरण र छानबिनदेखि सबै तहका महाधिवेशन पनि निष्पक्ष हुनुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार प्रकाशमान सिंह निवास चाक्सीवारिमा भएको सो पक्षको बैठकले तोकिएको समयमा नै महाधिवेशन हुनुपर्ने र पार्टीभित्र देखिएका क्रियाशील सदस्यता लगाएता विवादलाई केन्द्रीय समितिले नै हल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी प्रवेशको नाममा आफ्ना मान्छे प्रयोग गराएर क्रियाशील सदस्यमा धाँधली भएको सो पक्षको ठहर छ । भदौ १९ भन्दापछि महाधिवेशन लाने विषयमा पनि सहमति नदिने समझदारी पनि नेताहरूबिच भएको छ । बैठकपछि काँग्रेस नेता अर्जुन नरसिंह केसीले तोकिएको समयमा नै महाधिवेशन हुनुपर्ने र विवादित विषयलाई व्यक्तिले नभएर केन्द्रीय समितिले हल गर्नुपर्ने निष्कर्ष रहेको बताए ।

उनले क्रियाशील सदस्यताको टुङ्गो लगाऊँ भन्ने आफ्नो समूहको माग रहेको र समयसीमाका अनुसार काँग्रेस चापमा रहेको समेत बताए । उनले समयको बाध्यात्मक स्थितिलाई लिएर काँग्रेसको विधानअनुसार र केन्द्रीय समितिको निर्णयअनुसार चल्नुपर्ने जिकिर गरेका छन् ।

काँग्रेसले भदौ १६ बाट काठमाडौँमा १४ औँ महाधिवेशन हुने कार्यतालिका तय गरेको छ । तर महाधिवेशनका लागि साउन १२ का लागि तोकिएको वडा अधिवेशन र साउन १६ गते हुने भनिएको गाउँ अधिवेशन स्थगित भइसकेको छ । क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपनि विवाद भने समाधान हुन सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार