मन्त्री बन्न सर्त तोक्ने सांसद महतको व्यंग्यात्मक सुझाव

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले मन्त्री बन्न सर्त तोक्ने प्रस्ताव राखेका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद महतले अहिलेको सत्तारुढ गठबन्धनलाई मन्त्री छान्न सकस भइरहेको भन्दै मन्त्री बन्नका लागि सर्त तोक्नुपर्ने भन्दै व्यंग्यात्मक रूपमा सुझाव दिएका छन् ।

सांसद महतले भने, ‘मन्त्री चुन्न सकस भयो भन्ने नेताहरूले भनेको सुनिन्छ । मन्त्री चुन्न लाइसेन्स जारी गरौं । मन्त्रीको लाइसेन्स जारी गर्दा मन्त्री बन्नका लागि सर्त राखौं ।’ उनले मन्त्री बन्नका लागि केही शर्त तोक्न आग्रह गर्दै भने, ‘स्थायी कमिटी सदस्य हुनैपर्ने । टन्न पैसा भएको हुनुपर्ने । योभन्दा अगाडि कम्तीमा २ पटक मन्त्री भएकै हुनुपर्ने । भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने । त्यसमा सिपालु हुनुपर्ने । पार्टी नेतृत्वलाई घुर्की, धम्की, धाक दिनसक्ने । गुटमा आबद्ध भएकै हुनुपर्ने । भरसक पति, पति नभए पत्नि यो पनि राखौं ।’

उनले थपे, ‘नेतृत्वको वरिपरि घुमी खुसी बनाउने खुबी भएको । भ्रष्टाचार र कमिसन सबै दुलाहरू थाहा पाएको, त्यो क्षमता भएको माननीयलाई मन्त्री बनाउने सर्त राखौं । यो सदनमा आइराख्न नपर्ने यसो झल्याकझुलुक गरे हुने प्रावधान राखौं । हाम्रो नेतालाई सजिलो होला ।’ सांसद महतले यस्तो मापदण्ड बनाएमा नेताहरुलाई मन्त्री छान्न सजिलो हुने टिप्पणी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार