मनाङमा १८ वर्षमाथिका सबै नागरिकले कोरोना खोप लगाए

हिमाल पारीको जिल्ला मनाङमा १८ वर्षमाथिका सबै नागरिकले खोप पाएका छन् । जिल्लामा सक्रिय संक्रमित बाहेकका खोप लगाउन योग्य सबै व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

जिल्लाका चारवटै स्थानीय तहमा विभिन्न चरणमा खोप अभियान सुरु गरी सबै नागरिकलाई खोप सेवा उपलब्ध गराएको स्वास्थ्य कार्यालय, मनाङले जनाएको छ ।

स्वास्थ्य कार्यालय, मनाङका अनुसार मनाङका ४ हजार १ सय ९८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको हो । ङिस्याङ गाउँपालिकामा १ हजार २ सय ९१ जनाले खोप लगाएका छन् ।

यस्तै नार्पाभूमि गाउँपालिकामा ४ सय, सदरमुकाम चामेमा १ हजार ४ सय ३७ र नासोङ गाउँपालिकामा १ हजार ७० जनाले कोरोनाको खोप लगाएका हुन् ।

मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेका छन् । कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार