नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। मंगलबार बिहान कोटेश्वरमा नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन्।
उनीहरू कोटेश्वर खरिबोटस्थित नेपालनिकट नेता पार्वती थापाको घरमा भेटवार्ता भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् ।
अध्यक्ष प्रचण्ड र नेता नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। उनीहरूले आज बिहान करिब एक घन्टा कुराकानी गरेका थिए।
नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ। तर, नेता नेपालले एमालेमा एकता प्रयास जारी रहेकोले सरकारमा नजाने प्रचण्डलाई बताउँदै आएका छन्।
गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेका बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन्। ओली र नेपालबीच मंगलबार भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।