पार्टी एकताको पक्षमा माधव, ओलीसँग भेटवार्ता गर्ने तयारी

नेकपा एमाले माधव नेपाल पक्षले अब छिटै एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबिच भेटवार्ता हुने बताएको छ । सोमबार बसेको स्थायी कमिटी सदस्यहरूको बैठकपछि बोल्दै एमाले नेता रघुजी पन्तले एमालेलाई एकताबद्ध गर्न अधिकतम प्रयास भइरहेको र ओली र नेपालबिच भेटवार्ता हुने बताएका हुन् ।

यस्तै नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका थिए। उनले आफ्नो चाहना अरु सदस्यको जस्तै होस् भन्ने रहेको उल्लेख गर्दै त्यसका लागि सम्मानजनक र सुव्यवस्थित ठाउँ चाहिने बताए ।

सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्बोध गर्दै उनले भने, ‘कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।’

नेता नेपालले आफू पार्टी एकताको पक्षमा र सतरात्मक रहेको बताएका थिए । बैठकमा एकताका लागि छलफलमा जुटेका नेताहरूले अहिलेसम्मको छलफलको अवस्थाका बारेमा जानकारी गराएको नेता पन्तले बताएका छन् । यस्तै बैठकले एकता भाड्ने अभिव्यक्ति नदिन नेताहरूको ध्यानाकर्षण गराएको छ । सोमबार काठमाडौँमा बसेको सो पक्षको बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकताभाड्ने अभिव्यक्ति नदिन नेताहरूको ध्यानाकर्षण गराएको हो । यस्तै एमाले नेता पन्तले सार्वजनिक अभिव्यक्ति दिँदा शब्द चयनमा ध्यान दिन पनि ध्यानाकर्षण गराएको बताएका छन् ।

गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन । यसबिचमा दुवै पक्षका नेताहरूले आन्तरिक छलफललाई भने निरन्तरता दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार