कीर्तिपुरको धकेलाधकेलमा दुई प्रहरीसहित सातजना घाइते, एकको अवस्था गम्भीर

Image

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेल हेर्न कीर्तिपुर गएका केही दर्शकहरू भिडमा च्यापिएर घाइते भएका छन्।

शनिबार दिउँसो एनपिएलको उद्घाटन खेल हेर्न आएका पाँच जना दर्शक र दुई जना प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

घाइतेहरूमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने २५ वर्षीय जयन श्रेष्ठ, गुल्मीको कालीगण्डकी गाउँपालिका-५ घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई काठमाडौंको सितापाइला बस्ने ३२ वर्षीय केशव आचार्य र बैतडीको डिलासैनी गाउँपालिका घर भई सिन्धुपाल्चोक बस्ने २५ वर्षीय केशव नेगी र रूकुमको मुसिकोट घर घई बानेश्वर बस्ने ३२ वर्षीय प्रेम खड्की छन्।

उनीहरू पाँचै जनालाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। घाइतेमध्ये जयन श्रेष्ठ डिस्चार्ज भइसकेका छन् भने गुल्मीका शिशिर गौतमलाई थप उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको एसपी अधिकारीले जानकारी दिए।

त्यस्तै घटनामा केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी भई संघीय ससद सुरक्षा बेस बानेश्वरमा कार्यरत दुई जना प्रहरी जवान पनि घाइते भएका छन्।

घाइते प्रहरी जवानहरूमा धादिङको खनियावास गाउँपालिका-३ का२६ वर्षीय अजय तामाङ र जुम्लाको सिन्जा गाउँपालिका(२ का दानबहादुर राउत छन्। प्रहरी जवान तामाङको अवस्था गम्भीर छ। उनलाई कीर्तिपुर अस्पतालबाट वीर अस्पताल रेफर गरिएकोमा त्यहाँबाट पनि रेफर गरेर बाँसबारीस्थित न्युरो अस्पताल लगिएको छ। उनको टाउकोमा चोट लागेको छ।

अर्का प्रहरी जवान राउतको भने अवस्था मध्यम छ। उनको अनुहार, टाउको र घाँटीमा चोट लागेको छ। अरू घाइतेहरूको अवस्था पनि सामान्यदेखि मध्यम छ।