नेकपा एमाले माधव नेपाल पक्षको अव छिटै एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबिच भेटवार्ता हुने बताएको छ । सोमबार बसेको स्थायी कमिटी सदस्यहरूको बैठकपछि बोल्दै एमाले नेता रघुजी पन्तले एमालेलाई एकताबद्ध गर्न अधिकतम प्रयास भइरहेको र ओली र नेपालबिच भेटवार्ता हुने बताएको हो ।
बैठकमा एकताका लागि छलफलमा जुटेका नेताहरूले अहिलेसम्मको छलफलको अवस्थाका बारेमा जानकारी गराएको नेता पन्तले बताए । यस्तै बैठकले एकता भाड्ने अभिव्यक्ति नदिन नेताहरूको ध्यानाकर्षण गराएको छ । सोमबार काठमाडौँमा बसेको सो पक्षको बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकताभाड्ने अभिव्यक्ति नदिन नेताहरूको ध्यानाकर्षण गराएको हो ।
यस्तै एमाले नेता पन्तले सार्वजनिक अभिव्यक्ति दिँदा शब्द चयनमा ध्यान दिन पनि ध्यानाकर्षण गराएको बताएका छन् । गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन । यसबिचमा दुवै पक्षका नेताहरूले आन्तरिक छलफललाई भने निरन्तरता दिएका छन् ।