लागुऔषध कोकिनसहित प्रहरीले १३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौँका विभिन्न स्थानबाट १ किलो ५ सय १२ ग्राम कोकिनसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो । बरामद गरेको कोकिनको बजार करिब साढे चार करोड बराबरको रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले साउन ७ गते काठमाडौंको पकनाजोलको एक होटलबाट चार जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुबाट ५ सय ग्राम कोकिन फेला परेको थियो । पक्राउ परेकामध्ये मन गुरुङको डेरा खानतलासी गर्दा २ किलो ४ सय ग्राम सुन समेत फेला पारेको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए । प्रहरीले बरामद गरेको सुन नक्कली भएको पुष्टि भएको छ । साउन १० गते चितवन भरतपुर महानगरपालिका ७ बाट गोरखा बारपाक घर भएका ४५ वर्षीय सुरोज गुरुङलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको र त्यसपछि अनुसन्धान गर्दै जाँदा थप व्यक्ति पक्राउ गरेको थापाले बताए ।
त्यसपछि प्रहरीले अञ्जु थापा मगरलाई ३ सय २९ ग्राम कोकिन र ७ लाख ५० हजार सहित पक्राउ गरेको थियो । त्यस लगतै थप अनुसन्धान गर्दा रानीवारी बस्ने मुना तामाङ र रक्की आले मगरलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ । साउन ११ गते प्रहरीले काठमाडौं रानीबारीबाट नै रोयल थापा मगर, टोखाबाट सन्दीप पटेल, मिराज ढकाललाई नियन्त्रणमा लिएको र त्यसपछि सुदन शाक्य र मछिन्द्र धमला पक्राउ परेको ब्युरोको भनाई छ ।