सुजिता हत्या प्रकरणमा उनकै बुवाको पनि संलग्नता रहेको खुलासा

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्याको घटनामा प्रहरीले उनका बाबुसहित थप तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सुजिताको हत्यामा पिपरा गाउँपालिका–६ रतौली बस्ने उनका ५० वर्षीय बुबा कामेश्वर पाण्डेय, भंगहा नगरपालिका–१ कविलासा बस्ने ३५ वर्षीया नन्द अंजु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया बस्ने ५५ वर्षीय प्रमोद भन्ने विनोद मण्डललाई पक्राउ गरिएको हो।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले अनुसन्धानका क्रममा बाबुसहित दोषी देखिएकाले तीनजनालाई विभिन्न मितिमा पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकी अञ्जु सुजिताको हत्या गर्ने मुख्य अभियुक्त देवर रुपेश ठाकुरको दिदी हुन्।

‘सुजिता दिनभर नचाहिने बेलामा पनि अरुसित घुम्ने गर्ने गर्थिन्। अरूसँग सम्बन्ध भएकाले परिवारको इज्जत, प्रतिष्ठा गुम्ने भएकाले हत्या गरेको कामेश्वरले बयान दिएका छन्,’ प्रहरी प्रवक्ता विष्ट भने।

‘कामेश्वरले छोरी सुजितालाई मार्न पटक–पटक भनेको कुरा अनुसन्धानको क्रममा प्राप्त अडियो रेकर्डबाट देखिएको छ’ विष्टले भने,‘छोरीको हत्या भएको कुरा जेठ २५ मै जानकारी भए पश्चात प्रतिवादी रुपेशसँग घटना लुकाउन बार्गेनिङ गरेको कुरा पनि अनुसन्धानबाट खुलेको छ।’

त्यसैगरी गएको जेठ २० गते बिहान रुपेश समेतले सुजिताको हत्या गरेको कुरा नन्द अन्जुलाई सोही दिन फोन गरेर जानकारी गराइएको भए पनि उनले कहीँकतै जानकारी नगराई घटना लुकाउने भूमिका निर्वाह गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले सुजिताको हत्या गरेको आरोपमा मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरेको थियो ।

गत जेठ २० गते सुजिताको आफ्नै कोठामा हत्या भएको थियो । देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्याइ घाँटीसमेत थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका थिए । हत्या भएको ३९ औं दिनमा शौचालयको सेप्टिक ट्यांकीभित्र गाडेर माथिबाट ढलान गरिएको अवस्थामा सुजितको शव बरामद भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार