एमालेमै फर्किइन् लुम्बिनीकी सांसद ओली

लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् । दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट चुनाव जितेकी सांसद वलीले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै आफू एमालेमा भएको स्पष्ट पारेकी हुन् ।

‘म निर्वाचित भएर प्रदेशसभामा क्रियाशील हुँदै गर्दा पार्टीप्रति मेरो केही गुनासा थिए । एउटा पार्टी कार्यकर्ताको नाताले पार्टीप्रति मेरा र पार्टीको मप्रति गुनासा हुनु स्वभाविकै थियो,’ उनले विज्ञप्तिमा लेखेकी छन्,’ ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म नेकपा एमालेप्रति प्रतिबद्ध रहेको र नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु ।’

आफू सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेको हुँदा माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमा रहेको उनले स्पष्ट पारेकी छन् । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुखसमेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । विमला एमालेमा फर्किएपछि विपक्षी गठबन्धनलाई सरकार गठनका लागि प्रदेशसभाको बहुमत नपुग्ने देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार