डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड अस्पतालबाट हटाइयो

सरकारले प्राध्पापक डाक्टर जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गौतमलाई उक्त स्थानबाट सोमबारदेखि लागु हुने गरी हटाएको प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताएका छन् ।

मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।

डा. गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो । उक्त अस्पतालको जिम्मेवारी सम्हालेदेखि गौतम विवादमा तानिएका थिए । सोमबार पनि उक्त अस्पतालका स्वास्थ्यकर्मीसहितका कर्मचारीले गौतमलाई कार्यालयमा छिर्न निषेध गर्दै धर्ना दिएका थिए ।

सम्बन्धित समाचार