दार्चुला घटना : छानविन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले यस घटनाको सम्बन्धमा छानविन समिति गठन गरिसकिएको जानकारी दिँदै छानविन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताए । छानबिन समितिको प्रतिवेदनको आधारमा सरकारले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

प्रतिवेदन प्राप्त गरेपछि नै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै उनले भने, ‘हामी आफैले छानविन समिति बनाइरहेको अवस्थामा छानवीनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुको लागि हामी जुनसुकै अडान लिनपनि तयार छौँ । र त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने र आफ्ना धारणा सार्वजनिक गर्ने र अगाडी बढ्न गृह मन्त्रालय र नेपाल सरकार प्रतिवद्ध रहेको म मान्यज्यूहरुलाई हार्दिकतापूर्वक अवगत गराउन चाहान्छु ।’

उनले साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुःखद र संवेदनशील रहेको बताए । उनले सोही दिन गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरिक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्द, र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढााडसहित ३ जनाको टोलीले स्थलगत छानबिनका लागि घटनास्थलमा खटिएको जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार