दार्चुला घट्नाको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले नेपालस्थित भारतीय दूतावास अघि प्रदर्शन गरेको छ । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौँस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो ।
दार्चुला घटनालाई सङ्गठनले ‘भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन’ को संज्ञा दिएको छ । उनीहरूले उक्त घटनाको छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् । अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले नेपाल र नेपालीमाथि तथा राष्ट्रियतामाथिको ज्यादती सह्य नहुने भन्दै विरोध गरिएको बताए । भारतीय पक्षबाट नेपालीमाथि गर्ने जघन्य अपराधमा नेपाल सरकार मौन हुनु दुखद रहेको उनको भनाई छ । सङ्गठनले नेपाल भारतबिचको असमान सन्धि सम्झौता पनि खारेज हुनुपर्ने माग गरेका छन् ।