माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । ‘अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित गरिएको छ,’ माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका मुख्य सचिव श्रीराम ढकालले भने ।

सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुनै बाँकी रहेको र अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नेजस्ता कार्यक्रम बाँकी नै रहेकोले स्थायी कमिटी बैठक आज नबस्ने भएको छ।

आजको बैठकमा मन्त्री छनोटका विषयमा केन्द्रित हुने बताइएको थियो । गत असार २८ गते सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् ।

देउवाले असार २९ गते कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए । यस्तै साउन १० गते कांग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार