‘अध्यक्ष होइन,अधिकार चाहिन्छ’

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन् । तर नेता नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अधिकार आफूले पनि प्रयोग गर्नु पाउनुपर्ने बताएका हुन् ।

‘पार्टीभित्र लामो समय विवाद भयो। फेरि पनि बहुमतका नाममा पेल्ने काम हुनेछ । नेताहरूको मूल्याँकन हुने सम्भावना कम छ । पहिला पनि धेरै नै पेलेपछि अहिलेको अवस्था आएकाले सबै नेता र कार्यकर्तालाई समान जिम्मेवारी दिनका लागि पनि बराबरी अधिकार आवश्यक छ’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो । स्रोतका अनुसार नेपालले पार्टीमा दोस्रो अध्यक्ष होइन, ओलीले बराबर अधिकार प्रयोग गर्न चाहन्छन् ।

नेपालले आइतबार बिहान धेरै समय ‘पर्ख र हेर’ को अवस्थामा बस्ने स्थिति नभएकाले निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा आफ्नो पनि हस्ताक्षर चल्ने अवस्था आएमा एमालेमै बस्न सकिने सन्देश ओलीलाई पठाएका थिए । तर ओलीले नेपालको सन्देशको कुनै जवाफ नदिएको स्रोतले जनाएको छ ।

पार्टी उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेले नेता नेपालको सन्देश लिएर ओलीसँग भेटघाट गरेका थिए। ओली भने नेपालको माग स्वीकार गर्न इच्छुक छैनन् ।

पृथ्वी सुब्बा गुरुङलगायतले दबाब दिएपछि ओली नेपाल समूहलाई पार्टीमा ल्याउन तयार भएका हुन् । उनी कार्यदलले तयार पारेको १० बुँदे सहमतिभित्रै रहेर विवाद मिलाउने पक्षमा छन् । उनले १० बुँदे सहमतिमै टेकेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले स्थायी कमिटीको आइतबार बसेको बैठकमा सुवास नेम्वाङ र विष्णु पौडेललाई एकताका लागि व्यवहारिक रुपमा अधिकतम प्रयास गर्न निर्देशन दिएका छन् ।

ओलीले बैठकमा नेपालको सन्देशबारे केही नबोलेको एक नेताले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार