बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको १८ प्रतिशत काम सम्पन्न

बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने कामले गति लिएको छ । हालसम्म १८ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । आइतबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको सुरुङमार्गका अनुगमनका क्रममा हाल सुरुङमार्ग खन्ने काम तीव्र गतिमा अगाडि बढको जानकारी गराइएको हो । दैनिक १३ देखि १४ मिटर खन्ने लक्ष्य भए पनि हाल दैनिक आठ मिटर खन्ने काम भइरहेको जापानी प्राविधिक टोलीले जनाएको छ ।

अनुगमनका क्रममा समिति सदस्यहरूले सुरुङमार्ग निर्माणको अवस्थाका साथै यसले पार्ने प्रभावका बारेमा पनि जानकारी लिएको थियो । समिति सभापति तारादेवी भट्टले तीव्र गतिमा काम भएपनि निकै चुनौती र समस्या देखिएको बताए । सुरुङमार्गबाट स्थानीय बस्ती पनि जोखिममा रहेकाले यसको समाधान गर्दै आयोजना सम्पन्न गर्नुपर्ने उनको भनाई छ । उनले सुरुङमार्गका विषयमा सरकारसँग छलफल गर्ने जानकारी दिएका छन् ।

काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाई २.५ किलोमिटर, चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुङ्गाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ भने सडकको लम्बाइ आठ किलोमिटर कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट दश मिनेटमा नौबिसे पुग्न सकिनेछ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार