कर्णाली डुंगा दुर्घटना : घाइते मध्ये एक महिलाको मृत्यु

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा गम्भिर घाइते एक महिलाको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको मगरको मृत्यु भएको हो । उनका एक महिनाका छोरा कर्ण सलामी मगर समेत घाइते छन् ।

यस्तै २० वर्षीया पार्वती थापा, २२ वर्षीया उर्मिला सलामी र उनको १० दिने बच्चा बेपत्ता रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही डुंगामा रहेका अन्य पाँच जना भने पौडिएर जोगिएका छन् ।

आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा जाने क्रममा डुंगा दुर्घटना भएको हो । उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाँदै थिए ।

राँगा मलेखा मोहन्याल गाउँपालिकाको विकट क्षेत्र हो । त्यहाँ एउटा खोप केन्द्र नहुँदा स्थानीयहरू सुर्खेतको बिजौरामा रहेको स्वास्थ्य चौकीमा खोप लगाउन आउनु पर्छ । घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट प्रहरी टोली खोज तथा उद्धार कार्यमा खटिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार