दीपक मनाङे पक्राउ

Image

पूर्व प्रदेशमन्त्री दीपक मनाङे काठमाडौँमा पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर मनाङेलाई प्रहरीले आज बिहान काठमाडौँको सानो भर्‍याङबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार मनाङेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ ।

मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा उनलाई कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो। 

दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यान मार्ने उद्योग ९प्रयास० गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए ।