लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडरमा राजेश हमाल नियुक्त

Image

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अभिनेता राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । 

सोमबार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गरी लुम्बिनी लायन्सले हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको जानकारी दिएको हो । ब्रान्ड एम्बासडर नियुक्त भएपछि हमालले लुम्बिनी लायन्ससँगको सहकार्यबाट नेपाली क्रिकेटको प्रवर्द्धनमा योगदान दिन पाउँदा उत्साहित भएको बताए ।

‘लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्द्धन गर्ने प्रतिबद्धता  प्रेरणादायी छ । म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवर्द्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु,’ उनले भने ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाललाई ब्रान्ड एम्बासडरका रूपमा भित्र्याउन पाउँदा उत्साहित भएको बताए । ‘हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई एनपीएलको उत्कृष्ट टिम बनाउने हो र हमालको  आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ,’ उनले भने ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हुन लागेको पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।