कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा जाने क्रममा डुंगा दुर्घटना भएको हो । मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिने छोरा बेपत्ता भएका हुन् ।
काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य पाँच जना सकुशल छन् । घाइतेमध्ये १९ वर्षीया धनसरा सलामी मगर गम्भीर घाइते छन् भने एक महिनाका कर्ण सलामी सामान्य छन् ।
राँगा मलेखा मोहन्याल गाउँपालिकाको विकट क्षेत्र हो । त्यहाँ एउटा खोप केन्द्र नहुँदा स्थानीयहरू सुर्खेतको बिजौरामा रहेको स्वास्थ्य चौकीमा खोप लगाउन आउनु पर्छ । घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट प्रहरी टोली खोज तथा उद्धार कार्यमा खटिएको छ ।