मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो

मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ। आइतबार बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ पठाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि उनलाई विमानमार्फत काठमाडौँ झिकाएको हो।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाटै फर्काइदिएको थियो ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार