नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका निम्ति मेची(महाकाली अभियान चलाउने बताएका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा वाईसीएलको दोस्रो नगर सम्मेलनमा बोल्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेरमात्रै राजनीतिबाट विश्राम लिने बताए ।
उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै आउँदैन । व्यवस्था परिवर्तनको सुरुवाती दिनदेखि नै हामीले यो मुद्दा उठाउँदै आएका छौं ।’
आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको बताए । दोस्रोपटकमा उज्यालो नेपालको अवधारणाअनुरूप विद्युत्भार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।
उनले भने, “मैले पहिलोपटक प्रधानमन्त्री हुँदा ऋण मिनाहा गरेँ, नेपालको पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ । म अझै थाकेको छैन । त्यसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु ।”
उनले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गरे । धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको उनले बताए । उनले थानकोट–चित्लाङ–चन्द्रागिरि सडक, गणेशमान राजमार्ग स्तरोन्नतिसहित कालोपत्र गर्ने, फोदगाउँ बस्ती बचाउ कार्यक्रममा सहयोगका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
माओवादी केन्द्रको पहलमा वाग्मती सरकारको लगानीमा कभर्ड हल सम्पन्न हुने चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण भएको उनले उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले दामगाडे–महादेवबेँसी सडक ९८ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कञ्छाल–कलेचानी सडकसहित १० करोडको प्याकेज सञ्चालनमा रहेको र मदन भण्डारी विज्ञापन तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना भएको बताए ।