मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी एमालेबाट निलम्बित

मानव तस्करीको गम्भीर आरोप लागेका कोसी प्रदेशका निवर्तमान कानुनमन्त्री लिलाबल्लभ अधिकारी पार्टीबाट निलम्बित भएका छन् ।

नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार मानव तस्करीको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनैपनि तहमा रहन नपाउनेगरी अधिकारीलाई निलम्बन गरिएको हो ।

‘माननीय श्री लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ अध्यक्ष खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीको हैसियतमा केही दिन अगाडि वैदेशिक भ्रमणका लागि जापान गएका थिए ।

उनले आवश्यक मापदण्ड तथा प्रक्रियाहरूसमेतको बेवास्ता गरी पदीय मर्यादाविपरीत जापानको भ्रमण गरेपछि पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ ।

सम्बन्धित समाचार