वनमन्त्री शाही अजरबैजान प्रस्थान

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका छन् ।

सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म हुँदैछ । मन्त्री शाही नेतृत्वको प्रतिनिधिमण्डलमा वन सचिव डा दीपककुमार खराललगायत छन् ।

सम्मेलनमा नेपालले जलवायु अनुकूलन, हानि, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास अल्पविकसित राष्ट्रहरूको विषय प्रमुख रूपमा उठान गर्ने तयारी गरेको छ । यसका लागि मन्त्रालयले राष्ट्रिय स्थितिपत्र तयार गरेको छ ।

राष्ट्रिय स्थितिपत्रमा विशेषगरी हानि पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखिएको छ । कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाउँदैछ ।

उनले उद्‌घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्नेछन् ।

यसका साथै नेपालले आफ्ना मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ ।

सम्बन्धित समाचार