राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ। बैठक शनिबार बिहान साढे ११ बजे पार्टी कार्यालय चःमतिमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार पाँच कार्यसूचीमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्दैछ। समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडालिटीबारे बैठकमा छलफल हुनेछ।
त्यस्तै मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टी परिचालन र विविध प्रस्तावमाथि छलफल हुने झाले बताए। सहकारी ठगी, संगठित अपराधको अभियोगमा पार्टी सभापति लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन्। उनीमाथि तेस्रोपटक अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेर उनको हिरासत लम्ब्याएको दाबी गरिरहेको छ। पार्टीले विचार मिल्ने दलहरूसँग यसबारे संवाद गर्ने, धारणा बुझ्ने निर्णय पनि गरिसकेको छ। केन्द्रीय समिति बैठकले त्यसबारे थप छलफल गरेर संघर्षको कार्यक्रम तय गर्न लागेको हो।