सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइका लागि संसदीय समितिको बैठक बस्दै

Image

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई जना न्यायाधीशको संसदीय सुनुवाइ आज हुँदैछ । न्यायाधीशको सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो।

बैठक अहिले बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हल भवन नम्बर २ कोठा नम्बर ३०१ मा बस्ने संसदीय सुनुवाइ समितिले जानकारी गराएको छ। यसअघि कात्तिक १४ गते सुनुवाइ गर्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो।

सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर दुई प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो।

प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध २ वटा उजुरी परेको छ भने पाण्डेविरुद्ध कुनै उजुरी परेको छैन् । निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधीश हुन् । न्यायाधीशमा अनुमोदन भए निरौला प्रधानन्यायाधीशको रोलक्रममा पर्नेछन् ।

निरौलाले अबको १२ वर्षपछि ५० दिन देशको न्यायपालिकाको नेतृत्व गर्ने भएका छन्। टेकप्रसाद ढुंगानापछि प्रधानन्यायाधीश हुने गरी निरौलालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ । ढुंगाना २०९३ पुस ६ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउनेछन्। ढुंगाना बिदा भएपछि निरौलाले २०९३ पुस ६ देखि माघ २५ सम्म न्यायालय सम्हाल्नेछन्।