उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न गरिएको छ । जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।

यसअघि बिहीबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरूले ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्यसहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व चार दिनसम्म मनाइन्छ । सूर्यको उपासना र छठी माताको पूजाआराधनाले पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

​मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई-मधेशका साथै काठमाडौं उपत्यकामा समेत विस्तार भएको छ ।

छठको विधि कार्तिक शुक्ल चतुर्थीमा आरम्भ भई सप्तमीमा समापन हुन्छ ।

सम्बन्धित समाचार